श्रीमतीको हत्या गरि खाल्टोमा हालेपछि ………….

0

शिबराज भट्ट, धनगढी ५ फागुन

श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका १२ जुगेडा सिगाउँका हिक्मत बहादुर सिहले मध्यराती डोरीले घाँटी कसेर श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन । आफैले, श्रीमती अञ्जली सिहको हत्या गरी घर नजिकैको खोलामा खाल्टो खनेर गाढेका हिक्मतले, आफैले प्रहरी चौकी जुगेडामा श्रीमती वेपत्ता भएको निवेदन दिएका थिए ।

छिमेकमा, आफ्नै ईष्टमीत्र पर्ने १६ वर्षिया अञ्जलीलाई हिक्मतले पुष ८ गते भगाएर विवाह गरेका हुन । विवाह गरेको दुई महिना नवित्दै, श्रीमतीले पाँच महिना देखि महिनावारी नभएको जानकारी गराएपछि, अर्काको गर्भ बोकेको ठानेर आफुले हत्या गरेको हिक्मतले प्रहरीलाई बयान दिएका छन ।

प्रहरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालयमा हिक्मतबहादुर सिहलाई सार्वजनिक गरेको छ । पत्रकारहरु समक्ष पनि सिहले, आफु एक्लैले माघ २८ गते मध्य राती श्रीमती अञ्जलीको हत्या गरेको स्वीकार गरेका छन । उनले, राती १ बजेतिर हत्या गरी कोठामा कम्बलले छोपेर गएको र नजिकै खोलामा खाल्टो खनेर आएपछि शव लगेर गाढेको पत्रकारहरु समक्ष बताएका छन ।

श्रीमती हराएको निवदेन पछि उनले आफैले जंगल आसपासका खोजबीन गरेको नाटक पनि गरेका थिए । तर प्रहरीले अनुसन्धानका क्रममा उनको घर देखि झण्डै सय मीटरको दुरीमा अञ्जलीलाई गाढेको अवस्थामा हिजो बेलुकी फेला पारेको थियो । प्रहरीले हत्यामा प्रयोग भएको ठोरी र खाल्टो खन्न प्रयोग गरिएको फरुवा समेत बरामद गरेको छ । प्रहरीले, मृतक अञ्जलीको शव उत्खनन गरेर आज पोष्टमार्टम गराएर आफन्तको जिम्मा लगाएको जनाएको छ ।

तर मृतकका आफन्तहरुले भने हिक्मत एक्लैले त्यो घटना गरेकोमा विश्वास गरेका छैनन । मध्यराती हत्या गरेपछि, एक्लैले खाल्टो खनेर गाढ्दा सम्म परिवारका कसैले थाहा छैन भने पन्छिन नमिल्ने मृतककी आमा सरिता सिहले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय पुग्नु भएकी मृतककी आमा सरिता सिहले, हिक्मतका परिवारका अरु सदस्यलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गर्नुभयो । प्रहरीले, हिक्मत बहादुर सिह विरुद्ध कर्तब्य ज्यान मुद्धा दर्ता गरेर ८ दिनको म्याद थपेको छ ।

Share.

About Author

Leave A Reply