प्रहरी वरिष्ठ उपरीक्षक खत्री ३३ किलो सुन काण्डमा पक्राउ

0

काठमाडौं, २३ माघ ।

दुवईबाट ल्याइएको ३३ किलो सुन काण्डमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई हेडक्वाटरबाटै पक्राउ गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत एसएसपी खत्री सुन काण्डपछि प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएका थिए ।

एसएसपी खत्री आइतबार दिउँसो हेडक्वाटरबाटै पक्राउ परेका हुन् । प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिरिनुलाई गम्भीर ‘सुरक्षा कमजोरी’ (सेक्युरिटिज ल्यापसेज) भएको भन्दै विमानस्थलका खत्रीलाई प्रहरी मुख्यालयमा फिर्ता बोलाएको थियो । खत्रीलाई ३३ किलो सुन विमानस्थलबाट बाहिरिदाको सुरक्षा कमजोरी र घटनामा उनको संलग्नता भए–नभएकोबारे छानबिन गर्न हेडक्वाटर तानिएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुस २१ गते विमानस्थलको सुरक्षा र भन्सार कटाएपछि पिंगलास्थान र गोठाटारबाट ३३ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको थियो । भरपर्दो सूचनाका आधारमा ब्युरोका एसपी मीरा चौधरी नेतृत्वको टोलीले ३३ किलो सुनसहित तस्करीमा संलग्न तीनजनालाई पक्राउ गरेको थियो ।

ब्युरोले आफ्नो प्रतिष्ठाको विषय बनाई उक्त सुन तस्करी प्रकरणलाई गम्भीर ढंगले अनुसन्धान भइरहेको बताएको थियो । विमानस्थल प्रहरी र भन्सार कार्यालयको सुरक्षा जाँचबीच ठूलो परिमाणमा विमानस्थलबाट सुन बाहिरिनुले विमानस्थल प्रहरी र भन्सार कार्यालयका कर्मचारीमाथि ठूलो नैतिक प्रश्न उब्जाएको थियो ।

ब्युरोले ३३ किलो सुनसहित नेपालगन्जका गोपालबहादुर शाही, मोरङ पथरी ८ का दिनबन्धु थापा र दुबईमै काम गर्दै आएका जनकपुर १२ का सन्तोष काफ्ले पक्राउ परेका थिए । पक्राउ परेकाको बयानका आधारमा प्रहरीले एसएसपी खत्रीलाई पक्राउ गरेको स्रोतको दाबी छ ।

http://www.annapurnapost.com/news/63954

Share.

About Author

Leave A Reply